काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था अध्यक्ष खेमबहादुर पाठक नियम विपरीत तेहरो जिम्मेवारीमा रहेको पाइएको छ ।
नेकपा एमाले केन्द्रीय सहकारी विभाग सदस्य रहेका पाठक एकै समयमा ३ संघसंस्थाको सञ्चालक पदमा रहेको पाइएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘होलसेल लेन्डिङ’ को काम गर्ने गरी अनुमति पाएको साना किसान विकास लघुवित्तको नियामक निकाय राष्ट्र बैंक हो ।
लघुवित्तसंँगै सहकारीका विभिन्न संघसंस्थामा सञ्चालक रहेको पाइएपछि केन्द्रीय बैंकको पनि सुपरीवेक्षकीय दायराभित्र उनी परेका हुन् । एकभन्दा बढी संस्था सञ्चालकमा रहेका व्यक्ति केन्द्रीय बैंकको सुपरीवेक्षकीय दायराभित्र आउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘एक संस्थाभन्दा धेरैमा सञ्चालक बस्ने बित्तिकै स्वार्थको द्वन्द्व देखियो,’ ती अधिकारीले भने, ‘स्थलगत निरीक्षणमा जाँदा लेन्डिङ गरेको देखियो भने छुट्टै इस्यु हुन्छ । कहिलेकाहीँ हामीले छाड्न पनि लगाउन सक्छौं । त्यसमा केन्द्रीय बैंकको सुपरीवेक्षकीय भूमिका हुन्छ ।’
साना किसान विकास लघुवित्तका अध्यक्ष पाठक राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षको मात्र नभई नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशन अनुसार पनि पाठकको तेहरो जिम्मेवारीमा प्रश्न उठ्छ ।
एकीकृत निर्देशन अनुसार एउटा लघुविक्त वित्तीय संस्थामा सञ्चालक रहेको व्यत्ति एकै पटक अर्को इजाजतपत्र प्राप्तरअनुमति प्राप्तरस्वीकृति प्राप्त संस्था लगायत सहकारी ऐन २०७४ अन्तर्गत सञ्चालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन पाउँदैन । तर, संस्थाले आफ्नो कर्मचारीलाई संस्थागत प्रतिनिधित्व हुने गरी सञ्चालक नियुक्त भने गर्न सक्छ ।
सहकारी ऐन २०७४ अनुसार सहकारी संघसंस्थामा एक व्यक्ति एकै पटक दोहोरो पदमा रहन सक्दैन । ऐनको दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ ।
त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्था सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ ।
सहकारी ऐन अनुसार पनि पाठक तेहरो भूमिकामा बस्न सक्ने अवस्था रहँदैन । तर, पनि पाठक राजनीतिक पहुँचका आधारमा नियम विपरीत एकभन्दा बढी संस्थाको जिम्मेवारीमा बहाल छन् । यस सन्दर्भमा सहकारी विभागले पनि सहकारी महासंघसँग एक साताको समय राखी स्पष्टीकरण मागेको छ ।
तेहरो जिम्मेवारीमा रहेको सन्दर्भमा अनलाइनखबरले पाठकसँग कुराकानी गर्दा उनले एउटामात्र संस्थामा रहने तयारीमा आफू लागेका बताए ।
‘अहिले म सञ्चालक भएका संस्थाको लेखा परीक्षण र वार्षिक साधारणसभा हुन बाँकी छ, त्यसपछि मैले लिएका जिम्मेवारी छाड्ने योजनामा छु,’ पाठकले भने, ‘आगामी केही समयभित्र म एक संस्थाको मात्र सञ्चालकमा भएको हुनेछु ।’
सहकारी क्षेत्र सुधारका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्न तयार भएको समेत उनले बताए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्