काठमाडौं । नबिल बैंक लिमिटेड र सुपरएप निम्बजबीच डाटा ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीसँगै नबिल बैंकका सेवाग्राहीले अब एनबैंक मोबाइल एपमार्फत विश्वभरका २०० भन्दा बढी देश तथा क्षेत्रहरूमा प्रयोग गर्न मिल्ने डाटा ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमतिपत्र सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका थिए।
बैंकका अनुसार यो सेवा विशेषगरी विदेश यात्रा, अध्ययन तथा रोजगारीका लागि बाहिरिने नेपालीहरूलाई लक्षित गरिएको छ। ई–सिम सेवा अन्तर्गत ग्राहकले एनबैंक एपमार्फत चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देशको डाटा प्याकेज सजिलै खरिद गर्न सक्नेछन्।
नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईंका अनुसार विदेश पुग्नेबित्तिकै इन्टरनेट नपाउने समस्या, सिम खरिदका लागि आवश्यक कागजी प्रक्रिया तथा विदेशी मुद्रा विनिमय जस्ता झन्झटबाट मुक्ति दिलाउन यो सेवा ल्याइएको हो।
त्यसैगरी, एनबैंक एपमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटको लागि पनि अब सजिलै आवेदन दिन सकिने भएको छ। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यो परमिट १९० भन्दा बढी देशमा मान्य हुने बैंकले जनाएको छ।
ग्राहकले आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गरेर १० मिनेटभित्रै आवेदन दिन सक्नेछन्। यो प्रक्रियामा परीक्षा आवश्यक नपर्ने र २४ घण्टा भित्र विद्युतीय अनुमतिपत्र प्राप्त गर्न सकिने जानकारी दिइएको छ। ग्राहकले चाहेको खण्डमा उक्त अनुमतिपत्र डिजिटल तथा फिजिकल कार्ड दुवै रूपमा प्राप्त गर्न सक्नेछन्।
निम्बजका निर्देशक तिमिल्सिनाले यो सहकार्यले विद्यार्थी, वैदेशिक रोजगारमा जाने र अन्तर्राष्ट्रिय यात्रुहरूलाई थप सहज, सुरक्षित र तनावमुक्त यात्रा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
निम्बज सुपरएपमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, किनमेल, ओटीटी मूभी, गेम, डिजिटल वालेट लगायत थुप्रै सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध छन्।
नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो इतिहास भएको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रको आधुनिकीकरणमा निरन्तर योगदान पुर्याउँदै आएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्