काठमाण्डौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका दुई वर्षदेखि सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्ष अघि सम्म गाउँमा ८ सय देखि एक हजार २ सय बोट भन्दा बढी सुन्तला थिएनन् ।
पाँच वर्ष यता प्रत्येक घरका कृषकले २ सय देखि ४ सय सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उनले बताए । आफूले करिब ४ सय ५० बिरुवा हुर्काइ सकेको जनाउँदै उनले बोटले फल दिन थालेका बताएका छन् ।
लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ । हालसम्म करिब ५० हजार भन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिएका छन् ।
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राईले बताएका छन् । पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक २० लाखसम्मको सुन्तला बिक्री हुन थालेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्