बागलुङ : अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन। दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो।
समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ। अहिले सङ्क्रमणको दर ८८ पुगेको छ। आइतबार मात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ।
अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ। अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको जानकारी दिए। प्राविधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने अझै अनिश्चित रहेको जनाइएको छ।
‘अक्सिजन प्लान्टको प्राविधिकले काम गरी रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ ठूला सिलिण्डर भर्न सकिने उनको भनाइ छ।’ अक्सिजन प्लान्ट रु दुई करोड ३२ लाखको लागतमा निर्माण हुन थालेको भए पनि सरकारले बजेट भुक्तानी नगर्दा समस्या भएको उनको भनाइ छ। प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको डा पोखरेलले जानकारी दिए।
सरकारले समयमै बजेट नपठाउँदा कामसमेत ढिलाइ भएको उनको भनाइ छ। ‘अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाइ भएको छ।’ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७० अक्सिजन सिलिण्डर भरेर राखिएको उनले जानकारी दिए। अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ तर त्यस प्लान्टले हाइफ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्