भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक भएपछि अक्सिजनको अभाव हुन थालेको छ । श्वासप्रश्वासमा समस्या हुने भएकाले कोरोनाले ग्रस्त भएका बिरामीलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्ने र एकै समयमा धेरै बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था सृजना भएकाले अक्सिजनको अभाव भएको हो ।
भारतामा पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ । शनिबार मात्र ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय ६० जनाले ज्यान गुमाएका छन् ।
अस्पतालमा संक्रमितको संख्या बढिरहेको समयमा अक्सिजनको हाहाकार पनि भएको छ । बिरामीले खचाखच भरिएका अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध समेत गरेका छन् । उत्तरी भारतमा अस्पतालहरू सञ्चालन गरिरहेको म्याक्स हेल्थकेयरले शनिबार ट्वीट गर्दै आफूसँग दुई घन्टालाईमात्र पुग्ने अक्सिजन भएको जनाएको थियो । त्यस्तै फोर्टिस हेल्थकेयरले अक्सिजन नभएकाले दिल्लीका आफ्ना अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने जनाएको छ ।
दिल्लीमा अक्सिजन अभावका कारण भयावह अवस्था सृजना भएकाले भारत सरकारले अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल समेत पठाएको छ। हाल सिंगापुर लगायतका देशबाट पनि भारतले अक्सिजन ल्याईरहेको छ । कतिपय बिरामीलाई आफन्तले अस्पतालको करिडोर र सडकमै राखिरहेका छन् भने मृतकको संख्या बढेपछि दिल्लीमा अन्तिम संस्कार गर्ने ठाउँको समेत अभाव हुन थालेका छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्