मोरङ : ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन आदेश दिएको हो।
थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो। उनी सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका थिए।
गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए। थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए।
२२ मङ्सिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। फैसलापछि हाजिर भएका तीन आरोपी धरौटी बुझाएर छुटेका हुन्।
अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो।
भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्