काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन विजया दशमीको अवसरमा मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ ।
दशैंको पहिलो दिन घटस्थापना गरी सुरु गरेको दुर्गा पूजा आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गरेर बिहान १० बजेर २ मिनेटपछि टीका लगाउन सुरु गरिएको छ ।
विजया दशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत रहेको छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ ।
विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ ।
सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल सुरू भएको हो । विजयादशमीका लागि मान्यजनकोमा जानका लागि मानिसहरु घरघरबाट निस्किएका छन् । यसका कारण सवारीसाधनमा चाप देखिएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्