काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो।
त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पारिवारिक सदस्यसँगै दशैँको टीका र जमरा लगाउनु भएको छ । प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गर्नुभएको हो।
प्रधानमन्त्री देउवाले सामान्य रुपमै परिवारका सदस्यहरुसँग टीका लगाएर दशैँ मनाउनु भएको हो।
यसैगरि, सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गर्नुभएको छ ।
बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गर्नुभएको छ ।
पूर्वराजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा डा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गर्नुभएको हो ।
यसैगरि, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पिताको हातबाट दशैँको टीका लगाउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले परिवारका सदस्यहरुसँगै दशैँ मनाउनु भएको हो । डा. भट्टराई ९२ वर्षका बुबा भोजप्रसाद भट्टराईको हातबाट टीक र जमरा ग्रहण गर्नुभएको छ । साथै उहाँकी पत्नी हिसिया यमी तथा छोरी–ज्वाइँ र नातिसहितले टीका तथा जमरा लगाएर दशैँ मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्