रुपन्देही झडपमा चार जनाको मृत्यु, ३० घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २४

काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको छ।

सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो। गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ।

तीन जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच÷पाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन्।

आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *