काठमाडौँ । वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा प्रहरीले रामेछापबाट पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, सुनजस्तो देखिने गरगहना, पुराना सिक्का तथा बुद्धचित्तका दाना बरामद गरेको जनाएको छ ।
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट
प्रहरीका अनुसार उक्त समूहले भदौ १८ गते राति करिब १२ बजे खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई उनीहरूकै घरमा बन्धक बनाएर लुटपाट गरेको थियो ।
रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार वृद्ध दम्पतीको मुखमा प्लास्टिकको टेप लगाएर आँखामा पट्टी बाँधिएको थियो । उनीहरूलाई ज्यान मार्ने धम्की दिँदै गरगहना तथा नगद लुटेर लगिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट नगद तथा गरगहना बरामद
प्रहरीका अनुसार सुमन काठमाडौँको एक निजी विद्यालयमा चालकका रूपमा कार्यरत छन् । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल र बा.७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय रुपैयाँ नगद तथा डकैतीका क्रममा लगाएको ज्याकेट र हाफ कट्टु बरामद भएको प्रहरीले जनाएको छ ।
पशुपति मोटरसाइकल इनड्राइभ चालक रहेको र उनको साथबाट मोटरसाइकल तथा ६ हजार ४६० रुपैयाँ नगद बरामद भएको छ । उनको बैंक खातामा १ लाख ३१ हजार रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ । साथै पुराना सिक्का, सुनजस्तो देखिने औँठी र बुद्धचित्तका २२ दाना बरामद भएका छन् ।
पिताम्बर सुनचाँदी व्यवसायी रहेको प्रहरीले जनाएको छ भने गुणराजको साथबाट सुनका दुई थान रिङ बरामद भएको छ ।
अन्य चोरीका घटनामा समेत संलग्न रहेको आरोप
प्रहरीका अनुसार पशुपति यसअघि रामेछापको महादेव मन्दिरको दानपेटिका फुटाएर चोरी गरेको घटनामा समेत संलग्न रहेको पाइएको छ । त्यस्तै २०८३ असार १ गते सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी र भदौ ७ गते रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरीमा समेत उनको संलग्नता देखिएको प्रहरी निरीक्षक राउतले बताए ।
दीर्घराजविरुद्ध २०७८ पुस १४ गते रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको पाइएको छ । पशुपतिको समूहले काठमाडौँमा समेत सिक्री लुटपाट गरेको र प्रहरी वृत्त कालिमाटीमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
यस्तै गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको पाइएको छ ।
अर्को घरबाट ७८ हजार चोरी
प्रहरीका अनुसार यही समूहले भदौ १८ गते बिहान करिब ६ बजे रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमानसिं तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको समेत खुलेको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्