नेपाली सेना राजनीतिक विवादमा मुछिनु दुःखद् हाे, ‘ग्रीन आर्मी’ बारे स्पष्ट जवाफ चाहियाे : ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन्। शुक्रबार रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा ओलीले नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण र विश्वसनीय संस्था भएकाले सधैँ निष्कलङ्क, निर्विवाद र आफ्नो संवैधानिक सीमाभित्र रहनुपर्ने बताएका हुन्।

विपद्का बेला राहत, उद्धार र पुनःस्थापनामा ध्यान दिनुपर्ने उल्लेख गर्दै ओलीले पछिल्लो समय सेनाको सक्रियता र त्यससँग जोडिएका कतिपय विषयमाथि समेत प्रश्न उठाए। अहिलेको मुख्य आवश्यकता पीडितको उद्धार, राहत वितरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भएको उनको भनाइ थियो।

ओलीले नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था भएको बताए। ‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो,’ उनले भने, ‘तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ।’

नेपाली सेना नेपाली जनताको विश्वास र भरोसाको केन्द्र भएको भन्दै ओलीले यसको गरिमा कायम राख्नुपर्नेमा जोड दिए। उनले सेना आफ्नो मूल जिम्मेवारी र कानुनी सीमाभित्र रहेर अघि बढ्नु उपयुक्त हुने धारणा राखे।

‘ग्रीन आर्मी’बारे सरकारसँग जवाफ माग

सोही कार्यक्रममा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, परिचालन, तालिम, पोशाक तथा आर्थिक स्रोतबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्।

उनले उक्त समूहको वास्तविक परिचय, उद्देश्य र गतिविधिबारे नेपाली जनतालाई जानकारी गराउनुपर्ने बताए। समूहले विगतमा भूकम्प तथा कोभिड–१९ महामारीका समयमा राहत तथा उद्धारमा काम गरेको दाबीप्रति समेत ओलीले प्रश्न उठाए।

‘ग्रीन आर्मी’का सदस्यहरूले नेपाली सेनाको ‘चुस्ता’ जस्तो देखिने पोशाक तथा कतिपय अवस्थामा दर्ज्यानी चिह्नसमेत प्रयोग गरेको विषयमा ओलीले आपत्ति जनाए। ठूलो सङ्ख्यामा रहेको भनिएको समूहको पोशाक, बुट, तालिम तथा परिचालनका लागि आवश्यक खर्च कहाँबाट व्यवस्थापन भइरहेको छ भन्ने विषयमा उनले प्रश्न उठाएका हुन्।

उनले करिब ७० हजारको सङ्ख्यामा रहेको दाबी गरिएको समूहको गतिविधि कसरी सञ्चालन भइरहेको छ र त्यसको आर्थिक स्रोत के हो भन्ने विषयमा सरकार, रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा सशस्त्र प्रहरी बलले स्पष्ट पार्नुपर्ने बताए।

‘मेरो नाम किन जोडियो ?’

ओलीले आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भन्ने चर्चाबारे समेत स्पष्टीकरण दिएका छन्। संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको प्रत्यक्ष जिम्मेवारी नभई सम्बन्धित प्रशासनिक निकायबाट हुने उनले बताए।

‘संस्था दर्ता गर्न प्रधानमन्त्रीको आदेश आवश्यक पर्दैन,’ ओलीले भनेका छन्। आफू प्रधानमन्त्री भएका बेला दर्ता भएको भनेर आफ्नो नाम जोडिएको विषयमा समेत उनले असन्तुष्टि जनाए।

उनले यति ठूलो सङ्ख्यामा रहेको दाबी गरिएको समूह लामो समयसम्म सार्वजनिक रूपमा नदेखिनु र अहिले उद्धारका नाममा एकाएक सक्रिय देखिनुको कारणसमेत स्पष्ट हुनुपर्ने बताए।

‘यसको खर्च कसले व्यहोर्‍यो, मेरो नाम किन जोडिएको छ ?’ भन्दै ओलीले प्रश्न गरेका छन्। यस विषयमा केही शङ्कास्पद कुरा देखिएको भन्दै उनले सम्बन्धित निकायले तथ्यसहित जवाफ दिनुपर्ने बताए।

राहत र उद्धारमा ध्यान दिन आग्रह

ओलीले विपद्को समयमा राजनीतिक विवादभन्दा पनि राहत, उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताए। बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले पीडितलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले भत्किएका सडक, पुल तथा अन्य संरचना पुनर्निर्माण गर्नुपर्ने र अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताए। प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण तथा अवरुद्ध सडक सञ्चालनका काम भइरहेको जानकारीसमेत उनले दिए।

नेपाली सेना र नेपाल प्रहरीले विपद्का समयमा उद्धार तथा राहतका क्षेत्रमा पुर्‍याएको योगदानको भने ओलीले प्रशंसा गरे। तर अपारदर्शी ढङ्गले कुनै समूह परिचालन हुँदा त्यसले सुरक्षा तथा कानुनी व्यवस्थामाथि प्रश्न उठाउन सक्ने उनको भनाइ थियो।

एमालेले सिधै पीडितलाई राहत दिने

ओलीले बाढीपहिरो प्रभावितलाई प्रत्यक्ष राहत पुर्‍याउनु एमालेको अहिलेको मुख्य प्राथमिकता रहेको बताए। पार्टीले आफ्ना कार्यकर्ता तथा विभिन्न स्रोत परिचालन गरी राहत सामग्री सङ्कलन तथा वितरण गरिरहेको जानकारी उनले दिए।

एमालेले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए पनि राहतको कुल परिमाण अझ बढी हुनसक्ने उनले बताए।

सरकारी कोषमा रकम जम्मा गर्नुको सट्टा तत्काल आवश्यकताअनुसार पीडितको हातमै राहत पुर्‍याउने कामलाई प्राथमिकता दिएको ओलीको भनाइ थियो। राहत तथा उद्धारको काम सम्पन्न भएपछि आवश्यकताअनुसार सरकारी कोषमा समेत सहयोग गर्न सकिने उनले बताए।

‘अहिले प्रचार होइन, पीडितको सेवा गर्ने समय हो’

ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर तथा दृश्य निर्माण गरेर प्रचार गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि व्यक्त गरे। अहिलेको प्राथमिकता उद्धार, राहत तथा क्षतिग्रस्त संरचनाबाट धनमाल निकाल्ने काम हुनुपर्ने उनको भनाइ थियो।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा सामाजिक सञ्जालमा लोकप्रियता कमाउनेभन्दा पीडितको सेवामा ध्यान दिनुपर्ने ओलीले बताए।

‘हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो,’ ओलीले भनेका छन्। कृत्रिम तस्बिर तथा दृश्य बनाएर प्रचार गर्नेभन्दा वास्तविक पीडितलाई सहयोग गर्नुपर्ने उनले बताए।

विपद्को समयमा राज्यका सबै निकाय, राजनीतिक दल तथा नागरिक समाजले आ–आफ्नो सामर्थ्यअनुसार राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित हुनुपर्नेमा ओलीले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *