बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गरिने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौंको एक सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।

‘एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने भएका छौं,’ पौडेलले भने। फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएका र पहिचान खुल्न नसकेका शव यसअघि चितवनमा व्यवस्थापन गरिएको थियो। बाढी आएको तेस्रो दिनमै शवगृहको क्षमताले धान्न नसकेपछि शवहरू करिडोरमै कुहिने अवस्था आएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा गरी करिब ६०० शव राख्न सक्ने क्षमता मात्रै छ। तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म ९८७ शव प्राप्त भइसकेका छन्। तीमध्ये करिब १०० शव काठमाडौं ल्याइएको छ।

काठमाडौंमा शव व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न तीन–चार दिनसम्म निरन्तर प्रयास गर्नुपरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

‘तीन–चार दिनको लगातारको प्रयासपछि मात्र ठाउँ पत्ता लगाउन सक्यौं,’ उनले भने। सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शव व्यवस्थापन गर्ने भएको छ।

निर्देशिकाअनुसार शवको मुचुल्का तयार गर्ने, प्रारम्भिक पहिचान गर्ने, आवश्यकताअनुसार थप विधिको प्रयोगबाट पहिचान गर्ने, सनाखत तथा अभिलेखीकरण गर्ने र शवको पहिचानका लागि संकेत चिह्न राख्नुपर्ने व्यवस्था छ। बाढीपछि विभिन्न स्थानबाट संकलन भइरहेका शवको पहिचान तथा व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *