राप्रपा र राप्रपा नेपाल एकतापछिको समायोजन अलपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिच एकता भएको पाँच महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पुस १६ गते दुई पार्टीबीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उनले अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता थापाले पार्टी एकता भएको लामो समय भइसक्दा पनि भातृ सङ्गठनहरूको एकीकरण अलपत्र परेको र निर्वाचन आयोगमा समेत पार्टी एकताको औपचारिक पत्र पठाउन नसकिएको बताएका छन् ।

यस ढिलाइले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको उनको तर्क छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको उल्लेख गर्दै थापाले एकताका बेला तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब समायोजन प्रक्रिया टुङ्ग्याउन माग गरेका छन् ।

थापाको यस अभिव्यक्ति सार्वजनिक भएलगत्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत नै त्यसको स्पष्टीकरण दिएका छन् । प्रवक्ता श्रेष्ठले पार्टी एकतालगत्तै निर्वाचनमा होमिनु परेका कारण केही ढिलाइ भएको स्वीकार गर्दै समायोजनको काम रोकिएको नभई प्रक्रियामा रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *