नेपालमा न्युरोसर्जरीका अग्रदूत डा. दिनेश नाथ गंगोलको निधन, चिकित्सा क्षेत्रमा शोकको लहर

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ८, २०८३

काठमाडौँ । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को ९२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको छ। उनको आजै दाहसंस्कार गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

डा। गंगोलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको चिकित्सकहरू बताउँछन् । उनले आफ्नो जीवनकालभर न्युरोसर्जरी मात्र होइन, पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए ।

उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत रहेका थिए । करिब चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए, जुन आफैंमा एक उल्लेखनीय उपलब्धि हो ।

१८८९ चैतमा काठमाडौंमा जन्मिएका डा. गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरेपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस तथा बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए । सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा कार्य सुरु गर्दै सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थालेका थिए । पर्याप्त उपकरण अभावका बाबजुद उनले जोखिम मोलेर नयाँ विधिहरूको विकास र प्रयोग गरेका थिए ।

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *