रुसी सैन्य विमान क्रिमियामा दुर्घटना हुँदा २९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । रुसको सैन्य विमान एएन–२६ मंगलबार क्रिमियामा दुर्घटनाग्रस्त भएको छ । २३ यात्री र ६ चालक दलका सदस्य सवार रहेको विमान दुर्घटनामा सबैको घटनास्थलमै मृत्यु भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

सुरुमा विमानसँगको सम्पर्क विच्छेद भएको थियो र पछि यो चट्टानमा ठोक्किएर दुर्घटनाग्रस्त भएको पाइएको थियो ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण प्राविधिक खराबी हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ । घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

एएन–२६ सोभियतकालीन सैन्य यातायात विमान हो । यसलाई एन्टोलोभ कम्पनीले बनाएको थियो । यसले सन् १९६९ मा पहिलो उडान भरेको थियो । यसको प्रयोग मुख्यतयाः सैनिक, हतियार र सैन्य सामग्री ओसारपसार गर्न गरिन्छ । यसले एकैपटक दर्जनौँ सैनिक वा भारी कार्गो बोक्न सक्छ ।

यो विमान साना र कच्ची रनवेबाट पनि उडान भर्न सक्षम रहेका कारण यसलाई दुर्गम र युद्ध क्षेत्रहरूमा बढी प्रयोग गरिन्छ । यसको पछाडिको ठूलो कार्गो ढोकाबाट ‘एयरड्रप’ अपरेसनहरू पनि गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *