मध्यपूर्व युद्ध र होर्मुज स्ट्रेट बन्द हुँदा फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्ध र प्रमुख व्यापारिक मार्ग होर्मुज स्ट्रेट बन्द हुँदाको बाछिटा एशियाली देशहरूमा गम्भीर रूपमा पर्न थालेको छ ।

इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गरेको छ भने श्रीलंकाले कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ ।

अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण फिलिपिन्स नराम्ररी प्रभावित भएको छ । आफ्नो आवश्यकताको ९८ प्रतिशत तेल खाडी क्षेत्रबाट आयात गर्ने फिलिपिन्समा फेब्रुअरी २८ यता पेट्रोल र डिजेलको मूल्य दोब्बरभन्दा बढीले बढेको छ ।

इन्धन आपूर्तिमा देखिएको गम्भीर खतरालाई मध्यनजर गर्दै राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले एक वर्षका लागि राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । इरान युद्धलाई नै कारण मानेर यसरी संकटकाल लगाउने फिलिपिन्स विश्वकै पहिलो देश बनेको छ ।

फिलिपिन्सका ऊर्जामन्त्री शेरोन गारिनका अनुसार देशमा अब करिब ४५ दिनलाई मात्र पुग्ने इन्धन मौज्दात छ । महँगो ग्यास (एलएनजी) को विकल्पमा तत्कालका लागि कोइलाबाट चल्ने विद्युत् केन्द्रहरूमा बढी निर्भर हुने सरकारको तयारी छ । एशियाली बजार होर्मुज जलसन्धिको नाकाबन्दीबाट सबैभन्दा बढी जोखिममा छ, किनकि त्यहाँबाट हुने तेल र ग्यास व्यापारको ९० प्रतिशत हिस्सा एसिया नै आउने गर्छ ।

यस्तै, संकटकाल लागू भएसँगै सरकारले इन्धन, खाद्यान्न र औषधिको वितरण सहज बनाउन विशेष समिति गठन गरेको छ । साथै, सरकारले सिधै इन्धन खरिद गर्ने अधिकार पनि पाएको छ ।

इन्धन खपत घटाउन सरकारी कर्मचारीलाई सातामा ४ दिन मात्र काम गर्ने (फोर डे वर्क विक) नियम लागू गरिएको छ भने जल यातायात (फेरी) सेवा घटाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *