हार,जित दुवै स्वीकार्दै नेपाली कांग्रेसले आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य नानु बास्तोलाले पार्टीले लोकतान्त्रिक मूल्यअनुसार हार र जित दुवैलाई स्वीकार गर्दै गम्भीर आत्मसमिक्षा गर्नुपर्ने धारणा राखेकी छन् ।

बैठकमा बोल्दै बास्तोलाले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले चुनावी परिणामलाई केवल जितका रूपमा मात्र नभई हारलाई पनि समान रूपमा स्वीकार्नुपर्ने बताइन् । “लोकतन्त्रमा कहिलेकाहीँ हारिन्छ, कहिलेकाहीँ शून्यमा पनि पुग्न सकिन्छ भन्ने यथार्थलाई स्वीकार्दै अघि बढ्नुपर्छ,” उनले भने ।

उनले चुनाव हारको सम्पूर्ण दोष पार्टी सभापतिमाथि मात्र थोपर्नु उचित नभएको उल्लेख गर्दै विगतका कमीकमजोरीहरूको समिक्षा आवश्यक रहेको उनको भनाई छ । “हामी सत्तामा हुँदा के गर्यौं, कस्ता व्यक्तिहरूलाई जिम्मेवारी दियौं, गठबन्धन सरकारमा के सहमति भयो र त्यसअनुसार काम भयो कि भएन—यी सबै विषयमा गम्भीर समीक्षा हुनुपर्छ,” उनले जोड दिइन् ।

बास्तोलाले नेपाली जनताको अपेक्षा, युवापुस्ताको समर्थन, जेनेरेसन ‘ का आन्दोलनका कारण, तथा बुद्धिजीवी र नागरिक समाजको धारणा जस्ता विषयलाई पनि समिक्षाको दायरामा ल्याउनुपर्ने धारणा राखिन् ।

संसदमा सिट घटे पनि देशको नेतृत्व गर्ने क्षमता नेपाली कांग्रेसमै रहेको दाबी गर्दै उनले पार्टी अझ सशक्त रूपमा अघि बढ्नुपर्ने बताइन् । विशेष महाधिवेशनले दिएको जिम्मेवारीअनुसार निर्वाचन सम्पन्न भइसकेको र अब समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको पनि उनले स्मरण गराइन् ।

यसै सन्दर्भमा उनले पार्टी सभापति गगन कुमार थापाको राजीनामा माग्नु उचित नभएको धारणा राख्दै उनलाई थप आत्मबल र सहयोग आवश्यक रहेको बताइन् ।

काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवारका रूपमा उपविजेता बनेका बास्तोलाले चुनावी परिणामलाई सहज रूपमा स्वीकार्दै आफू अझ मजबुत बनेको प्रतिक्रिया दिए । उनले सबै मतदातालाई धन्यवाद दिँदै प्रत्येक मतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *