निर्वाचन सुरक्षा कडा, ढुक्क भएर मतदान गर्न आह्वान

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २०, २०८२

काठमाडौं । भोलि २१ फागुन हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको सरकारले जनाएको छ। देशभरका मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन भइसकेका छन् ।

एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार सुरक्षाकर्मी गस्ती र निगरानीमा खटिएका छन् । सरकारले शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सबै तयारी पूरा भएको जनाएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले भयमुक्त वातावरणमा मतदानको अधिकार सुनिश्चित गरिएको बताएका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन बिथोल्ने प्रयासमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट ७९,७२७, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४,५७६, गुप्तचरबाट १,९२१ र निर्वाचन प्रहरी १,४९,०९० जना परिचालित छन् । जोखिमयुक्त जिल्लाहरू झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट, महोत्तरी लगायत क्षेत्रमा थप सुरक्षा व्यवस्था गरिएको छ।

निर्वाचनका दिन सेनाले हवाई गस्ती गर्नेछ भने सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र बुटवलमा हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ । २७५ बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ ।

देशभरका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ । ३,६८० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्, जसमा मधेश प्रदेशका १,२४६ स्थल पर्छन् । संयुक्त गस्ती र कडा निगरानीमार्फत शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *