नुवाकोट, फागुन १५ — नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको सुमो गाडी शिवपुरी गाउँपालिका–५ को कुखुरे क्षेत्रमा दुर्घटनामा परेको छ। बिहीबार साँझ भएको उक्त दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको बाप्र०३–००१ज ७७७ नम्बरको सुमो ओरालो सडकमा अचानक ब्रेक फेल भई अनियन्त्रित बनेपछि दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका छन्। उनीहरूको टाउको र छातीमा चोट लागेकोले थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी, इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला तामाङ र टेकबहादुर विष्ट सामान्य घाइते भएका छन्। उनीहरूको उपचार नुवाकोटस्थित अस्पतालमा भइरहेको छ।
दुर्घटनापछि सवारी चालक आइत लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्