काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार सुनसरीको इटहरीमा चुनावी सभा आयोजना गरेको छ। भैरहवा र पोखराका कार्यक्रम स्थगित गरेपछि गरिएको सभामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विकास निर्माण र प्रदेशका मुद्दामा जोड दिए भने सभापति रवि लामिछाने आलोचनाको प्रतिवादमै केन्द्रित देखिए।
किरात संस्कृतिको ‘सिलम साक्मा’ लगाएर सम्बोधन गरेका बालेनले कृषि आत्मनिर्भरता, औद्योगिक वातावरण सुधार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिए। उनले पूर्वी पहाडमा उत्पादित अर्गानिक तरकारी तराईसम्म पुर्याउने, बाँझो जमिन उपयोग गर्ने र सुनसरी–मोरङ औद्योगिक करिडोरलाई पुनर्जीवित गर्ने योजना सुनाए। धरानको खानेपानी समस्याको समाधानका लागि कोशीबाट ‘मेकानिकल लिफ्टिङ’मार्फत पानी ल्याउने प्रस्ताव पनि राखे ।
त्यस्तै, मुकुमलुङ, खुवालुङ र पाथीभराको संरक्षण तथा वराहक्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य रहेको उनले बताए। उदयपुरको तटीय क्षेत्रलाई ‘बाली’ जस्तै पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औंल्याए। खेल क्षेत्रको विकासका लागि ग्रासरुट तहमा प्रशिक्षण केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यता सभापति लामिछानेले चुनाव सार्न नहुने धारणा दोहोर्याउँदै गगन थापाप्रति लक्षित टिप्पणी गरे। बालेनको अभिव्यक्तिमाथि उठेको विवादको बचाउ गर्दै उनले कानुनअनुसार काम गर्नेलाई डराउन नपर्ने बताए। आगामी पाँच वर्ष रास्वपाले देशको नेतृत्व गर्ने दाबीसमेत उनले गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्