काठमाडौं । ‘चुनाव बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसाय जस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई(चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ ।’
९ फागुनमा बुटवल पुगेर प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार समूहमाथि गम्भीर आरोप लगाउँदै बहिष्कार गर्नेलाई चन्दासँग जोडिन् । संगठन नभएकाहरू आफ्नो पार्टीको अस्तित्व राख्न र यही मौकामा आर्थिक उपार्जन लाग्ने भएकाले चुनाव बहिष्कार एउटा अवसर जस्तो भएको संकेत उनले गरिन् ।
चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन दिए जस्तै सुरक्षा निकायहरूले पनि चुनाव बिथोल्ने समूहहरूको निगरानी गरिरहेको बताएको छ ।
सुरक्षा स्रोतका अनुसार अहिले विभिन्न १२ वटा समूह चुनाव बहिष्कारमा लागेका छन् । १२ समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुनसक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् । कम्युनिस्ट पार्टीदेखि राजावादीसम्मबाट सुरक्षा चुनौती हुनसक्ने प्रहरीको विश्लेषण छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूह र विभिन्न पार्टीहरुबाट चुनावी सुरक्षामा चुनौती हुनसक्ने बताइएको छ ।
अहिले प्रसाईं भने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रसाईंकै समूहको पीडीएफ ९पब्लिक डिफेन्स फोर्स० र एटीएफ ९एनी टाइम फोर्स०लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव बिथोल्ने प्रकृतिको अभिव्यक्ति दिएपछि उनी निकट समूहलाई पनि प्रहरीले निगरानीमा राखेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका थिए । शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्नेसमेत दाबी गरेका थिए ।
त्यसपछि शाह निकट समूह शाही युवा शक्ति नेपाललाई निर्वाचन बिथोल्न सक्ने समूहमा राखिएको छ । यो समूहका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन् ।
यता, ५ फागुनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चुनाव बहिष्कारमा लागेका नेकपा बहुमत पार्टीका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउसमेत गरेको थियो । उनीसहित यो समूहका चार जना अहिले पनि हिरासतमा छन् ।
त्यसैगरी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एउटा समूह, पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन र रोहिंग्या अर्थात् शरणार्थीहरूलाई पनि निर्वाचनमा चुनौती हुनसक्ने समूहमा राखिएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्