एक सातामै कांग्रेस बहुमत नजिक पुग्ने दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको बताएका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उनले देशभर कांग्रेसको पक्षमा माहोल सकारात्मक बन्दै गएको दाबी गरे।

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने अवस्थामा रहेको उनको भनाइ छ। यही दरले समर्थन बढिरहे एक हप्ताभित्रै बहुमत नजिक पुग्ने उनले ठोकुवा गरे।

शर्माले विशेष महाधिवेशनपछि पार्टी रूपान्तरण भएको उल्लेख गर्दै अबको कांग्रेस परिवर्तनमुखी र नयाँ पुस्तामैत्री बनेको दाबी गरे। दैनिक रूपमा हजारौँ व्यक्ति पार्टीमा प्रवेश गरिरहेको उनको भनाइ छ।

चितवनबाट सुरु गरिएको राजनीतिक यात्रा पश्चिमी जिल्लाहरू हुँदै काठमाडौँमा समापन गरिएको जानकारी दिँदै उनले हल्लाभन्दा संगठन सुदृढीकरणमा जोड दिएको बताए। साथै, पार्टीले फागुन ६ गते जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *