काठमाण्डौँ । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो ।
निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताउनुभयो ।
जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उहाँले बताउनुभयो । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताउनुभयो । यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताउनुभयो ।
बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । दुईवटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौँबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उहाँको भनाइ छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्