काठमाण्डौँ । बंगलादेशको चुनावमा मतदान सुरु भएको छ ।
यो निर्वाचनमा ५१ वटा राजनीतिक पार्टी सत्ता हासिल गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । बंगलादेशमा करिब १२.७ करोड मतदाताले यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
यो निर्वाचनमा युवा मतदाताको भूमिका निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन् । यसमध्ये करिब ४५ लाख मतदाता पहिलोपटक निर्वाचनमा मत खसाल्दै छन् ।
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री पदका लागि सबैभन्दा बलिया दाबेदार मानिएका छन् । यो निर्वाचनमा उनको पार्टी बीएनपी सत्तामा आउन सबैभन्दा ठूलो दाबेदार पनि हो । त्यसैले बीएनपीले चुनाव जितेमा रहमान देशको आगामी प्रधानमन्त्री बन्नेछन् ।
यद्यपि, बंगलादेशमा कट्टर मुस्लिम पार्टी जमात–ए–इस्लामी र २०२४ मा भएको विद्यार्थी आन्दोलनको जगमा जन्मिएका युवाहरूको पार्टी एनसीपी पनि बलियो शक्ति बनेका छन् । जमात–ए–इस्लामी पार्टीका नेता शिफुकर रहमान र एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका दाबेदार अनुहार हुन् ।
तारिक रहमान १७ वर्ष लामो निर्वासित जीवन बिताएर गत डिसेम्बरमा मात्रै बंगलादेश फर्किएका हुन् । उनी फर्किएको केही दिनमै खालिदा जियाको निधन भएको थियो ।
यसपछि बीएनपीको पूरै कमान्ड उनको हातमा आएको छ । तारिकमाथि २००१ देखि २००६ सम्म खालिदा प्रधानमन्त्री भएको समयमा भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको छ । २००७ मा अन्तरिम सरकारका समयमा उनले करिब १८ महिना यही आरोपमा जेल सजायसमेत भोगेका थिए । त्यसपछि पक्राउ पर्नबाट बच्न तारिक २००८ मा उपचारको बहानामा लन्डन भागेका थिए । त्यसपछि उनी शेख हसिनाको शासनभरि र उनको सत्ता ढलेको एक वर्षसम्म पनि स्वदेश फर्किएनन् ।
गत डिसेम्बरमा भएको एक सर्वेक्षणमा बीएनपीलाई ७० प्रतिशत जनताको समर्थन देखिएको थियो । यद्यपि, पछिल्ला समयमा जमात र एनसीपीको जनमत निकै बढेको बताइन्छ । तर, खालिदाको निधनपछि बीएनपीलाई केही सहानुभूतिको मत जानसक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री पदको दौडमा दोस्रो सबैभन्दा बलियो दाबेदार भनेको शफिकुर रहमान हुन् । उनी बंगलादेशको इस्लामिक पार्टी जमात–ए–इस्लामीका प्रमुख हुन् । यो पार्टी कट्टरपन्थी मुस्लिम पार्टी मानिन्छ । बंगलादेशको स्वतन्त्रतापछि हालसम्म यो पार्टीले सत्ताको नेतृत्व गर्ने अवसर पाएको छैन । यद्यपि, कट्टरपन्थी समुदाय यसको भोटबैंक मानिन्छ ।
अमेरिका र केही पश्चिमा देशका नेताले शफिकुरसँग सम्बन्ध बढाएको र निर्वाचनमा समेत समर्थन गरेको बताइएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्