दक्षिण कोरियामा एक नेताले जन्मदर बढाउन ‘विदेशी महिला आयात’ गर्ने प्रस्ताव राखेपछि विवाद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । हालैका वर्षमा दक्षिण कोरियामा जन्मदर घट्दै गइरहेको छ ।

सोही क्रममा जन्मदर बढाउन ‘भियतनाम वा श्रीलङ्काबाट युवती आयात गरेर ग्रामीण युवकसँग विवाह गराउन सकिने’ भन्दै एक जना स्थानीय अधिकारीले टिप्पणी गरेपछि विवाद चर्किको छ । यस्तो टिप्पणी गर्ने अधिकारीलाई सत्तारूढ पार्टीबाट निष्कासन समेत गरिएको छ ।

दक्षिणी जिन्दो काउन्टीका प्रमुख किम ही–सूले गत साता सार्वजनिक टाउन हल बैठकमा यस्तो प्रस्ताव राखेका थिए । ग्रामीण क्षेत्रमा पुरुषहरू अविवाहित रहिरहेको भन्दै उनले विदेशी महिलासँग विवाह गराउने उपाय सुझाएका थिए ।

उनको भनाइ सरकारी टिभीमा प्रसारण भएपछि यसको तीव्र आलोचना भयो । उनको सो अभिव्यक्ति पछि भियतनामले कूटनीतिक विरोध जनाएको छ भने दक्षिण कोरियामा व्यापक आक्रोश फैलिएको छ । अन्ततः सत्तारूढ डेमोक्रेटिक पार्टीले उनलाई निष्कासन नै गरेको छ ।

किमले अर्को दिन माफी माग्दै आफूले ग्रामीण जनसङ्ख्या सङ्कटलाई मात्र उजागर गर्न खोजेको दाबी गरे । उनले आफूले प्रयोग गरेको भाषा अनुचित भएको पनि स्वीकारे । तथापि, उनको माफीले विवाद शान्त हुन सकेन । दक्षिण जिओला प्रान्तीय सरकारले पनि औपचारिक रूपमा क्षमा याचना गर्दै उनको टिप्पणीले भियतनामी जनता र महिलाहरूलाई गहिरो चोट पु‍र्याएको जनाएको छ ।

सोलस्थित भियतनामी दूतावासले फेसबुकमार्फत वक्तव्य जारी गर्दै किमको भनाइ ‘केवल अभिव्यक्ति मात्र नभई आप्रवासी महिला र अल्पसङ्ख्यकप्रति गलत मूल्य र दृष्टिकोणको प्रश्न’ भएको भनेको छ । श्रीलङ्काले भने यस मामिलामा अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

यसैबिच महिला तथा आप्रवासी अधिकारकर्मीहरूले मङ्गलवार जिन्दो काउन्टी कार्यालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *