जन्ती बोकेको बस दुर्घटना : १३ जनाको ज्यान गयो, ३४ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा बिहीबार जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ८ जनाको घटनास्थलमै र थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला तथा बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्। एक जनाको पहिचान हुन बाँकी छ।

डडेल्धुरा अस्पतालमा उपचारका क्रममा बित्थडचिर–७ का १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यु–७ बस्सीका २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी–७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३४ जनाको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा वर–वधु भने सवार नरहेको जानकारी दिइएको छ।

घटनाप्रति स्थानीय प्रशासनले गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *