काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूका लागि nBank मोबाइल एपमार्फत उपलब्ध डिजिटल ऋण सेवालाई थप सहज, छिटो र प्रभावकारी बनाएको छ। बैंकले योग्य ग्राहकहरूको पहिचान गरी तत्काल, छोटो अवधिको तथा पूर्व–अनुमोदित कर्जा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
डिजिटल ऋण सेवा अन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार एक–महिने अवधिको कर्जा वा किस्ताबन्दी (EMI) प्रणालीमा आधारित ऋण छनोट गर्न सक्नेछन्। यस सेवामार्फत न्यूनतम NPR ५०० देखि अधिकतम NPR २,००,००० सम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। EMI–आधारित ऋणका लागि अधिकतम १२ महिनासम्मको भुक्तानी अवधि उपलब्ध हुनेछ । बैंकका अनुसार डिजिटल ऋणको ब्याजदर आधार दरमा ४.५ प्रतिशत थप गरी निर्धारण गरिएको छ, जुन मासिक रूपमा परिमार्जन हुन सक्छ। ऋण समयभन्दा अगाडि भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने सुविधा पनि प्रदान गरिएको छ ।
यद्यपि, तोकिएको समयमै किस्ता वा सम्पूर्ण भुक्तानी नगरेमा NPR ५०० ढिलो शुल्क लाग्ने व्यवस्था गरिएको छ। डिजिटल ऋणका लागि योग्य हुन ग्राहक नबिल बैंकको खातावाल हुनुपर्ने, राम्रो क्रेडिट इतिहास कायम गरेको हुनुपर्ने तथा पछिल्लो ६ महिनामा कम्तीमा ५ पटक तलब, तलबसरह आम्दानी (न्यूनतम NPR १०,०००) खातामा जम्मा भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
योग्य ग्राहकहरूले होम स्क्रिन मा विकल्प देख्नु हुन्छ र कुनै पनि अतिरिक्त कागजी प्रक्रिया बिना nBank मोबाइल एपमार्फत सिधै डिजिटल ऋणका लागि आवेदन दिने बित्तिकै तुरुन्तै खातामा पैसा लोड हुन्छ ।
बैंकले यो सेवा आकस्मिक आर्थिक आवश्यकतालाई छिटो, सुरक्षित र सहज रूपमा पूरा गर्न लक्षित रहेको जनाएको छ। डिजिटल बैंकिङ सेवाको प्रयोगलाई थप विस्तार गर्दै नबिल बैंकले ग्राहकहरूलाई आधुनिक, समयसापेक्ष र विश्वासिलो वित्तीय समाधान प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्