भीमफेदीमा सुमो दुर्घटना हुँदा मृत्यु हुने ६ मध्ये ४ जनाको पहिचान खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २१

काठमाण्डौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डको जुरीखेतमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारतको बिहारस्थित पटनाका ४२ वर्षीय रजनीश कुमार र बेगुसरायका ५० वर्षीय रविन्द कुमार रहेका छन् ।

त्यसैगरी हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवालको पनि दुर्घटनामा मृत्यु भएको छ। ज्यान गुमाउने अन्य दुई जना पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन । अन्दाजी ३५ र ४० वर्षका देखिने उनीहरूको नाम र ठेगाना पत्ता लगाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनामा सुमो चालकसहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा हेटौँडा–४ का ४५ वर्षीय चालक गणेश थापा, सोही स्थानका १२ वर्षीय अभ्यास लम्साल र रौतहटकी २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चालक थापा र बालक लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *