काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको विकास, बजारको बदलिँदो प्रवृत्ति र प्रविधिको आगामी दिशालाई एउटै मञ्चमा प्रस्तुत गर्ने तयारीसहित १८औँ नाडा अटो शो २०२६ आयोजना हुँदैछ। नाडाको ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको यसपटकको अटो शोले विगतको यात्रा सम्झनासँगै नेपाली अटोमोबाइल उद्योगको भविष्यबारे बहसलाई पनि प्राथमिकता दिने भएको छ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने मेलामा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनसम्बन्धी स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ।
तर यसपटकको नाडा अटो शोको विशेषता नयाँ गाडीको प्रदर्शनमा मात्र सीमित हुने छैन। रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि, विद्युतीय सवारी र स्वदेशी उत्पादनलाई प्रदर्शनीको मुख्य आकर्षण बनाउने तयारी गरिएको छ।
गाडीभन्दा परको अटो शो
नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार अटोमोबाइल उद्योग अहिले परम्परागत सवारीसाधनको कारोबारबाट प्रविधि र मोबिलिटीको नयाँ युगतर्फ अघि बढिरहेको छ।
“अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन। यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो,” मल्ल भन्छन्।
यही परिवर्तनलाई दर्शकसम्म पुर्याउन यसपटक अटो शोमा ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रदर्शन गरिनेछ। त्यसैगरी, सवारीसाधनमा राखिएका क्युआर कोड स्क्यान गरेर एआईको माध्यमबाट सम्बन्धित गाडीको विस्तृत जानकारी डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदैछ।
आयोजकका अनुसार प्रविधिलाई केवल प्रदर्शनीको आकर्षणका रूपमा नभई आगन्तुकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गरिनेछ। दर्शकले गाडी हेर्नुका साथै त्यसको विशेषता बुझ्ने, विभिन्न मोडल तुलना गर्ने र भविष्यको मोबिलिटी कस्तो हुन सक्छ भन्ने अनुभव गर्ने अवसर पाउनेछन्।
‘मेड इन नेपाल’लाई पहिलोपटक छुट्टै मञ्च
यस वर्षको अटो शोमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। अटो शोको इतिहासमै पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ नामको छुट्टै प्याभिलियन निर्माण गरिँदैछ।
उक्त प्याभिलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका मोटरसाइकल, स्कुटर र अन्य सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा स्पेयर पार्ट्स प्रदर्शन गरिनेछ।
मल्लका अनुसार नेपाली उद्योगको क्षमता देखाउनु र स्वदेशमा उत्पादन सम्भव छ भन्ने विश्वास बढाउनु प्याभिलियनको मुख्य उद्देश्य हो।
“नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई विस्तारै बदल्नुपर्छ। स्वदेशमा उद्योग स्थापना भयो भने रोजगारी बढ्छ, सीप विकास हुन्छ र अर्थतन्त्रमा मूल्य थपिन्छ,” उनी भन्छन्।
‘उद्योगदेखि रोजगारसम्म’को सन्देश
यसपटक नाडा अटो शोको मूल नारा नै ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ। नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत तथा समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ।
यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारी जोडिएको नाडाको दाबी छ। त्यसैले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात र बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने मल्लको भनाइ छ।
उनका अनुसार उद्योगलाई दीर्घकालीन रूपमा सबल बनाउन नीति, लगानी, पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिमा समानान्तर रूपमा काम गर्न आवश्यक छ।
ईभीसँगै पूर्वाधार र नीतिको बहस
विद्युतीय सवारीसाधन अर्थात् ईभीको बढ्दो बजार यसपटकको अटो शोको अर्को महत्वपूर्ण पक्ष हुनेछ। विभिन्न ब्रान्डले नयाँ विद्युतीय मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रदर्शनीसँगै स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ। तर ईभीको बजार विस्तारसँगै आवश्यक पूर्वाधार र नीतिगत तयारीमा पनि ध्यान दिनुपर्ने नाडाको जोड छ।
“ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन। चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस नेटवर्क र नीतिगत स्थिरता पनि आवश्यक छ,” मल्ल भन्छन्।
उनका अनुसार अबको बहस ईभीको बिक्री बढाउनेभन्दा पनि त्यसलाई टिकाउ बनाउन आवश्यक सम्पूर्ण प्रणाली कसरी निर्माण गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ।
दुई लाख दर्शक आउने अपेक्षा
छ दिनसम्म चल्ने अटो शोमा करिब दुई लाख आगन्तुक आउने आयोजकको अनुमान छ। ठूलो संख्यामा दर्शक आउने भएकाले पार्किङ र यातायात व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ।
नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायतका स्थानमा पार्किङको व्यवस्था गरिनेछ। बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बससमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था रहनेछ। आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको पनि आयोजकको भनाइ छ।
५० वर्षको इतिहासबाट भविष्यतर्फ
नाडाको स्वर्ण जयन्ती वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोले नेपाली अटोमोबाइल बजारको वर्तमान अवस्था मात्र होइन, आगामी सम्भावनासमेत उजागर गर्ने अपेक्षा गरिएको छ।
मल्लका अनुसार पाँच दशकको यात्राबाट प्राप्त अनुभवलाई आधार बनाएर अब नेपाली अटोमोबाइल उद्योगलाई नयाँ दिशामा लैजाने बहस सुरु गर्नुपर्ने समय आएको छ।
“हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन। ५० वर्षको यात्राबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस सुरु गर्नुपर्छ,” उनी भन्छन्।
यस अर्थमा भृकुटीमण्डपमा हुने यसपटकको अटो शो नयाँ गाडी, ईभी र प्रविधिको प्रदर्शनीमा मात्र सीमित रहने छैन। यसले स्वदेशी उत्पादनको सम्भावना, रोजगारीको अवसर, प्रविधिको प्रयोग र नेपाली अटोमोबाइल उद्योगको आगामी यात्राको एउटा नयाँ चित्र प्रस्तुत गर्नेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्