डडेल्धुराको रामपुर क्षेत्रमा जिप र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
शुक्रबार राति करिब ८:३० बजे आलिताल गाउँपालिका–४ जाल्टुडा नजिक म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परशुराम नगरपालिका–१० जोजला निवासी २६ वर्षीय रामबहादुर बराल मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी अछामको पञ्चदेवल नगरपालिका–३ घर भएकी २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनको अवस्था चिन्ताजनक भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
अटोमा चालकसहित तीन जना सवार रहेको र दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेको प्रहरीले जनाएको छ। जिप चालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुडाले बताएको छ।
जिपमा सवार तीनै जना सकुशल रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्