सिरहामा किशोरी हत्या प्रकरण: तीन साता बित्दा पनि अभियुक्त अज्ञात

DaksuMedia दाक्सु मिडिया
|
पुस १०, २०८२

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन। यसले पीडित परिवार र स्थानीय बासिन्दामा असन्तोष बढाएको छ।

गत मंसिर २२ गते कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा किशोरीको शव फेला परेको थियो। तर, हालसम्म मुख्य अभियुक्त सार्वजनिक नहुँदा पीडित पक्षले न्याय नपाएको गुनासो गर्दै आएका छन्।

मृतककी आमा दयावती दनुवारले छोरी गुमाएको पीडामाथि दोषी नसमातिँदा थप अन्याय महसुस भइरहेको बताइन्। उनका अनुसार पहुँच हुनेको कुरा छिटो सुनिने तर आफूजस्ताको आवाज बेवास्ता हुने गरेको अनुभूति छ।

स्थानीयवासीले घटनाको प्रकृतिलाई गम्भीर ठहर गर्दै छानबिनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरे।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार प्रमाणका आधारमा अभियुक्तसम्म पुग्ने प्रयास जारी छ।

दोषी पक्राउको माग गर्दै यसअघि स्थानीयले आन्दोलनसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *