श्रीलङ्का पछिल्ला दिनमा आएको भीषण चक्रवातबाट गम्भीर रूपले प्रभावित बनेको छ । सरकारी तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ६१८ पुगेको छ भने २० लाखभन्दा बढी नागरिक समस्यामा परेका छन्, जुन देशको कुल जनसङ्ख्याको करिब दश प्रतिशत बराबर हो ।
पहाडी क्षेत्र विशेषगरी अस्थिर बनेका कारण राहत पुर्याउन सेनाले हेलिकोप्टर र विमानमार्फत उद्धार तथा आपत्कालीन सामग्री वितरण गरिरहेको छ । केवल चिया बगान क्षेत्रमै ४६४ जनाले ज्यान गुमाएका छन्, जबकि २०९ जनाको अवस्था अझै अज्ञात छ।
७५ हजारभन्दा धेरै घरमा क्षति पुगेको र पाँच हजार घर पूर्णरूपमा नष्ट भएको सरकारले जनाएको छ । ठूलो क्षतिपछि सरकारले पुनर्निर्माण तथा आर्थिक पुनःस्थापनाका लागि विशेष योजना सार्वजनिक गरेको छ, जसमा मृतक तथा स्थायी रूपमा अपाङ्ग भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ ।
पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान छ । यसबीच, आइएमएफले अतिरिक्त २०० मिलियन डलर सहयोग गर्नेबारे अध्ययन गरिरहेको छ । राष्ट्रपति अनुुरा कुमारा दिस्सानायकले देशको अर्थतन्त्र सुधारको बाटोमा रहे पनि यति ठूलो प्रकोपलाई एक्लै सामना गर्न कठिन भएको बताएका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्