तनहुँ, २०८२ मंसिर २०, शनिबार
बेनीकोट, व्यास नगरपालिका–१३ का कृषक लेखबहादुर थापा पाँच वर्षसम्म कतारमा काम गरे, तर त्यहाँ सन्तुष्टि पाएका थिएनन्। हाल उनी घरमै बस्दै सुन्तलाखेतीबाट परिवारको खर्च चलाइरहेका छन्।
लेखबहादुरले बताए, “छुट्टीमा घर आएर अरुले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरेको देख्दा म पनि यो क्षेत्रमा लागेँ। विदेशमा ज्यानको मिहिनेत गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सकिन्छ भन्ने लाग्यो”।उनका अनुसार, यस वर्ष उनी २५० बोट सुन्तला रोपेर करिब ३ लाख ७० हजार रुपैयाँ आम्दानीमा सफल भए। यद्यपि, केही बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको छ। उनले कृषि ज्ञान केन्द्रसँग सहयोग पाए पनि रोगको कारण पत्ता लगाउन सकिएको छैन।
अर्का कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारी छोडेर सुन्तलाखेतीमा लागेका छन्। उनले बताए, “विदेशमा सबैको राम्रो आम्दानी हुँदैन, तर यहीँ खेतमा मिहिनेत गर्दा आत्मसन्तुष्टि पाउँछु। यस वर्ष मैले ३ लाख ५० हजारभन्दा बढी आम्दानी गरेको छु।”
अगुवा कृषक दलबहादुर थापाले भने, “यस वर्ष १६ लाख रुपैयाँको सुन्तला बिक्री भयो, अघिल्लो वर्ष १३ लाख थियो। यहाँ १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा संलग्न छन्।” उनले बोट मर्न थाल्दा कृषकहरू चिन्तित भएको बताए।बेनीकोटका कृषकले मुख्यतया भिरालो जग्गामा सुन्तलाखेती गर्ने भएकाले अन्य अन्नबालीको खेती कठिन छ। कृषकले कम्तीमा २० बोटदेखि ८०० बोटसम्म लगाएका छन्। कात्तिकदेखि मंसिरसम्म सुन्तला टिपेर बिक्री हुने गर्दछ।
व्यास नगरपालिकाले कृषकले बिक्री गर्दा प्रतिक्रिया कर रु १० प्रतिशत लिने गरेको छ, जसले कृषकलाई केही असुविधा पुर्याएको छ।सुन्तलाखेतीले यहाँका कृषकलाई आत्मनिर्भर बनाएको छ, तर जलवायु परिवर्तन र रोगले चुनौती पनि सिर्जना गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्