लुकेर बसेका सुन लुटपाटका अभियुक्त पेस्तोलसहित पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १०

काठमाडौँ ।  काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलो भर्‍याङमा महिला लक्षित सुनको सिक्री लुटपाट प्रकरणमा संलग्नमध्ये एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराका ३९ वर्षीय टाशी गुरूङ रहेका छन्, जो तारकेश्वर–८ पिपलडाँडामा डेरा गरि बस्दै आएका थिए।

गुरूङले मंसिर १ गते दिउँसो करिब १५:२८ बजे १.५ तोला सुनको सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ। उनलाई मंसिर ९ गते साँझ तारकेश्वर–८ जरखु क्षेत्रमा लुकेर बसेको अवस्थामा स्वयम्भू प्रहरी वृत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

उनको कोठामा गरिएको खानतलासीमा ७.६५ अटो पेस्तोल, म्याग्जिन, ६ राउन्ड गोली, खुकुरी, विभिन्न मोवाइल सामग्री, दुईवटा नम्बर प्लेट, कपडा, जुत्ता, हेल्मेट, कालो स्कुटर लगायतका वस्तु बरामद भएको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानले गुरूङको आपराधिक पृष्ठभूमि पनि रहेको खुलाएको छ।

उनको विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान जारी छ भने लुटपाटमा संलग्न अर्को फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *