काठमाण्डौँ । कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको पुनर्स्थापना र आर्थिक सुदृढीकरण अब अझ प्रभावकारी बन्ने भएको छ। कृषि विकास बैंक लिमिटेड (ADB/N) र कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (KIOKA) बीच “कोरियाबाट फर्किएका श्रमिकहरूको स्थिर पुनर्स्थापनाका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढीकरण” शीर्षकको महत्वपूर्ण परियोजनामा सम्झौता सम्पन्न भएको छ।
यस परियोजनाअन्तर्गत कोरियामा रोजगार अनुमति प्रणाली (EPS) मार्फत काम गरेर स्वदेश फर्किएका युवाहरूलाई वित्तीय पहुँच, उद्यम विकास सहयोग तथा आत्मनिर्भरता अभिवृद्धिमा लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछन्। परियोजनाले उनीहरूको सीप, अनुभव र परिश्रमलाई उद्यमशीलतामा रूपान्तरण गरी दीर्घकालीन रोजगार सिर्जनामा टेवा पुर्याउने उद्देश्य राखेको छ।
सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोगका निर्देशक मूहेन कोंग (Mooheon Kong) ले हस्ताक्षर गरेका हुन्। सो अवसरमा अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्मा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटा उपस्थित थिए।
यस परियोजनाले कोरियाबाट फर्किएका श्रमिकहरूको सीप र सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्