गरिमा रोड रेस–२०८२ भव्यरूपमा सम्पन्न, १,००० भन्दा बढी धावकहरूको सहभागिता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौं । स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसात् गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते शनिबार आयोजना गरेको Garima Road Race–2082 सफलतापूर्वक सम्पन्न भयो। १८औं वार्षिकोत्सवदेखि सुरु गरिएको यो प्रतियोगिता यस वर्ष दोस्रो संस्करणमा प्रवेश गरेको हो।

कार्यक्रममा खुला, कर्पोरेट र भेट्रान गरी ३ विधामा महिला तथा पुरुष मिलाएर ६ श्रेणीमा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो। खुला १० कि.मि. दूरीको र कर्पोरेट तथा भेट्रान समूहको ५ कि.मि. दूरीको दौड बालुवाटारस्थित गरिमा बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई तोकिएका मार्ग हुँदै त्यहीँमा सम्पन्न भएका थिए।

यस वर्षको प्रतियोगितामा १,००० भन्दा बढी धावकहरूको उत्साहपूर्ण सहभागिता रह्यो। खुला महिला तर्फ १० कि.मि. दूरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धाविका संतोषी श्रेष्ठ प्रथम भइन् भने खुला पुरुष तर्फ नेपाल आर्मीका राजन रोकायाले २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै विजेता बने। खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जिते।

प्रतिस्पर्धामा उत्कृष्ट स्थान हासिल गर्ने धावकहरूलाई खुला तर्फ प्रथमदेखि पाँचौंसम्म क्रमशः रु. ५०,०००, रु. ३५,०००, रु. २०,०००, रु. १५,००० र रु. १०,००० का नगद पुरस्कारसहित मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो। कर्पोरेट तथा भेट्रान ५ कि.मि. विधामा भने क्रमशः रु. ३०,०००, रु. २०,०००, रु. १४,०००, रु. १०,००० र रु. ७,००० का नगद पुरस्कार वितरण गरियो।

कार्यक्रममा बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, पत्रकार तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो। स्वागतरूपमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। समापन समारोहमा अध्यक्ष दिलीप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *