काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामा शान्तिसुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन, जेनजी आन्दोलन पीडितको राहत तथा निर्वाचन तयारीजस्ता विषयमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले आफ्नो कार्यकालको पहिलो महिनामा भएका मुख्य उपलब्धिहरू सार्वजनिक गरे।
शान्तिसुरक्षाको अवस्था सामान्यीकरण
गृहमन्त्री अर्यालका अनुसार मुलुकको बिग्रँदो शान्तिसुरक्षा अवस्थालाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा गस्ती र प्रहरीको सक्रियतामार्फत जनजीवनलाई सामान्य अवस्थामा फर्काइएको छ। कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रयासलाई प्राथमिकतामा राखिएको छ।
जेनजी आन्दोलन पीडितको राहत
भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा मृत्यु भएका ७६ जनालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। मृतकका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ। घाइते २,४२९ जनामध्ये ३८ जनालाई अस्पतालमै गई परिचयपत्र वितरण गरिएको छ। घाइतेका लागि ‘डेडिकेटेड’ अस्पताल र जेनजी क्लिनिकको व्यवस्था गरिएको छ।
संरचना पुनःनिर्माण
जेनजी आन्दोलनमा क्षति पुगेका ४५२ प्रहरी एकाइमध्ये ४०१ को पुनःनिर्माण सम्पन्न भइसकेको छ। बाँकी एकाइको पुनर्निर्माण प्रक्रिया जारी छ। क्षति भएका जिल्ला प्रशासन कार्यालयहरू तथा इलाका प्रशासन कार्यालयहरू पनि सञ्चालनमा ल्याइएको छ।
फरार कैदी र हतियार फिर्ता
भदौ २३-२४ का घटनापछि फरार भएका १४,५५६ कैदीबन्दीमध्ये ९,२१९ जनालाई फिर्ता ल्याइएको छ। साथै फरार १,५०५ थुनुवामध्ये ३५१ जना पक्राउ परेका छन्। आन्दोलनमा लुटिएका ५९४ हातहतियारमध्ये ५६३ नेपाल प्रहरी र ३१ सशस्त्र प्रहरीका हतियार फिर्ता ल्याइएको छ।
अवैध गतिविधिमाथि कारबाही
अवैध चोरी तथा तस्करी नियन्त्रणमा गृह मन्त्रालयले असोज महिनामा १० करोड ४ लाखभन्दा बढी मूल्यका मालसामान बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ७५ लाख रुपैयाँ बराबरको सुन बरामद गरिएको छ।
विदेशी नागरिक निष्कासन
भिसा म्याद नाघी बसेका वा अवैध रूपमा रहेका ६७ विदेशी नागरिकलाई निष्कासन गरिएको छ। अध्यागमन कार्यालयमा वैकल्पिक डाटा सेन्टर स्थापना गरिएको छ।
पूर्व विशिष्ट पदाधिकारीका सुरक्षाकर्मी फिर्ता
मापदण्ड विपरीत खटाइएका ४७७ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ३६६ र सशस्त्र प्रहरी १११) फिर्ता बोलाइएको छ।
विपद् व्यवस्थापनमा सक्रियता
मनसुन अवधिमा देशभर करिब ६५ लाख मानिसलाई पूर्वसावधानी सन्देश दिइएको छ। ४,२५७ जनाको स्थलमार्गबाट उद्धार तथा १८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै त्यहाँको कोषमा ७० लाख रुपैयाँ पठाइएको छ।
निर्वाचन तयारी तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखी निर्वाचन ऐनको संशोधन मस्यौदा तयार गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना निर्माणका लागि कार्यदल गठन भएको छ। नेपालीलाई विदेशबाट मतदान गर्न दिने व्यवस्था पनि ऐनमा समावेश गर्ने तयारी गरिएको छ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको मर्मअनुसार शान्ति, सुशासन र पारदर्शिता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्