काठमाण्डौँ । कुखुरा व्यवसायीले ब्रोइलर कुखुरा मासुको भाउ बढाएका छन् । अन्य महिनाको तुलनामा साउनमा मासु खपत कम हुने भए पनि राष्ट्रिय कुखुरा व्यवसायी संघले उत्पादन कम भएको भन्दै मासुको मूल्यवृद्धि गरेको हो ।
संघले १५ साउनदेखि लागु हुने गरी भाउ बढाएकोमा फेरि आइतबारदेखि नै लागु हुने गरी ३ दिनमै कुखुरा मासुको भाउ बढाएको हो । संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँ बढाएको छ ।
यसअघि जिउँदो कुखुराको भाउ प्रतिकिलो २ सय ४० रुपैयाँ भएकोमा भाउ बढेसँगै २ सय ५० रुपैयाँ पुगेको छ । यस्तै ३ दिनअघि प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको तयारी मासु पनि बढेर किलोको ३ सय ५० रुपैयाँ पुगेको छ ।
यसअघि असारमा जिउँदो कुखुरा प्रतिकिलो २ सय २० र तयारी मासु प्रतिकिलो ३ सय २० रुपैयाँ थियो ।
संघ अध्यक्ष जंगबहादुर बीसीले असारमा किसानहरूले चल्ला कम उत्पादन गरेपछि अहिले मासुको भाउ बढेको बताए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्