काङ्ग्रेसको घोषणापत्र : सुत्केरीलाई ५ हजार भत्ता, किसानलाई क्रेडिट कार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ११

११ वैशाख, काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ सार्वजनिक गरेको छ । घोषणापत्रमा साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिइने भनिएको छ । यस्तै, बजारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख छ । 

घोषणापत्र मार्फत् साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठुला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था उपलब्ध गराउने भनेको छ । दुई वा दुईभन्दा बढी स्थानीय तहहरुले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने कांग्रेसको योजना छ ।

यस्तै सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता र गर्भवती पोषण प्याकेज दिइने उल्लेख छ । हरेक नागरिकलाई कुनै न कुनै उद्यममा जोड्ने, उत्पादन बढाउने, शिक्षा, स्वास्थ्य र पोषणको गुणस्तरमा सुधार ल्याउने, युवा ऊर्जाको बलमा नयाँ प्रविधिमार्फत विकास निर्माणलाई दिगो र तीव्र बनाउने विषय कांग्रेसको घोषणापत्रमा समावेश छन् ।

 ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।नसर्ने रोगहरूको बढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिब लगायतका नियमित चेकजाँच वर्षमा एक पटक निःशुल्क गर्ने व्यवस्था गर्ने भनिएको छ । 

सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर मुख्य नारा दिएर बनाएको घोषणापत्रमा सम्मुन्नत नेपालको जग बसाल्ने वाचा गरिएको छ ।

तीन वर्षभित्र सबै विद्यालयमा ’विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने, सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटेरी प्याड वितरणको व्यवस्था गर्ने कांग्रेसको योजना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *