पीएनजीद्वारा नेपालसामु २ सय ९३ रनको विशाल लक्ष्य प्रस्तुत

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ११

११ चैत्र, काठमाडौं — पपुवा न्यु गिनी (पीएनजी) ले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई २ सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको पीएनजीले ८ विकेट गुमाई २ सय ९२ रनको स्कोर बनायो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको यो सबैभन्दा बढी रन हो । सन् २०१९ मा यूएईले दुबईमा यसअघि ६ विकेट गुमाई २ सय ५४ रन बनाएको थियो, जुन खेल नेपालले पारस खड्काको शतकमा ४ विकेटले जितेको थियो ।

सोमपाल कामीले चौथो ओभरमै हिरी हिरीलाई ४ रनमा आउट गरे पनि कप्तान असाद भाला र चार्ल्स अमिनीले अर्धशतक बनाउदै नेपाललाई राम्रो स्कोरमा उभ्याए । ओपनर टोनी उराले ४७ बल खेल्दै ८ चौकासहित ३८ रन बनाई राम्रो साथ दिए ।

भालाले ६० रन बनाए । दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड हुनु पूर्व उनले ५५ बल खेली ११ चौका प्रहार गरे । उनले अमिनीसँग तेस्रो विकेटमा ७४ रनको साझेदारी गरे । सेसे बाउ शुन्यमा आउट भए पनि अमिनीले रिले हेकुरेसँग पाँचौं विकेटमा ६१ रनको साझेदारी गरे ।

हेकुरेले ४० बल खेली ५ चौका प्रहार गरी ३१ रन बनाए । उनलाई पवन सर्राफले बोल्ड गरे । अमिनीले ७७ रनको सानदार इनिङ्स खेले । उनले १ सय ३ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे । नोमार्न भानुआले २८ बलमा ४७ रन बनाई पीएनजीको स्कोरलाई मजबुत बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । सोमपालले २ विकेट लिनेक्रममा ९ ओभरमा ८१ रन खर्चन पुगे । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३२ रनमात्र खर्चेर २ विकेट लिएका थिए । कमलले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

नेपाल र पीनएजीबीच दुई खेलको एकदिवसीय शृंखला हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *