किभ : शक्तिराष्ट्रको विरोधबीच रूसले अन्ततः छिमेकी युक्रेनमा बिहीबार आक्रमण गरेको छ। उसले युक्रेनका प्रमुख सहरहरूनजिकै मिसाइल आक्रमण र विस्फोटहरू गराएको हो। सम्पूर्ण सैन्य पूर्वाधारलाई निशाना बनाएको पाइएको छ। रूसी सेना एकै समयमा सबै सम्भावित दिशाहरूबाट प्रवेश गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणमा ४० भन्दा बढी आफ्ना सैनिक र १० सर्वसाधारण मारिएको पुष्टि गरेका छन्। जेलेन्स्कीले देशमा मार्सल कानुन लागू गरेका छन्। यसको अर्थ अब केही समय देश सेनाको नियन्त्रणमा रहनेछ। यससँगै उनले रुससँगको सबै कूटनीतिक सम्बन्ध पनि तोडेका छन्। ‘आत्तिनुपर्दैन। हामी बलियो छौं। हामी सबैका लागि तयार छौं। हामी सबैलाई पराजित गर्नेछौं, किनभने हामी युक्रेनी हौं’, राष्ट्रपति जेलेन्स्कीले राष्ट्रका नाममा गरेको भिडियो सम्बोधनमा भने।
उनले रुसको यो कदम युक्रेनको अखण्डता र सार्वभौमसत्तामाथिको प्रहार भएको बताए। रुसी नागरिकलाई रुसको यो कदमको विरोध गर्न पनि उनले आग्रह गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण रूपमा युक्रेनविरुद्ध आक्रामक कदम चालेको उनले बताए।
युक्रेनी अधिकारीका अनुसार राजधानी किफबाहेक निप्रो र खार्किभमा रहेको सैन्य मुख्यालय, हवाई अखडा र सैन्य गोदामहरूमा आक्रमण भएको छ। रुसले सीमामा करिब दुई लाख सैनिक र हजारौं सशस्त्र गाडी तैनाथ गरेको जेलेन्स्कीले बताए।
युक्रेनले आफ्नो पूर्वी, दक्षिण र उत्तरी सीमाबाट युद्ध ट्याकं र सेना प्रवेश गरिरहेको बताएको छ। रुसी सेना बेलारुसबाट युक्रेनको उत्तरी चेर्निहाइभ क्षेत्रमा र रुसबाट सुमी क्षेत्रमा प्रवेश गरेको बताइएको छ। बेलारुस लामो समयदेखि रुसको सहयोगी रहेको छ।
ओडेसा सहरको बाहिरी भागमा रहेको पोडिल्स्कस्थित सैन्य इकाईमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जसमा १९ जना बेपत्ता छन्। युक्रेनी सेनाले एक विज्ञप्तीमार्फत त्यहाँका जनतालाई शान्त रहन र युक्रेनको रक्षामा साथ दिन गर्न आह्वान गरेको छ। रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनको पूर्वी डोनबस क्षेत्रमा ‘सैन्य कारबाही’ गर्ने घोषणा गरेका थिए। रुसी बोल्ने धेरै युक्रेनी उक्त ठाउँमा बस्छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्