लगातार दुई दिनदेखि परेको भारी हिमपातका कारण हुम्लामा जनजीवन प्रभावित बनेको छ। सदरमुकाम सिमिकोटदेखि नाम्खालगायत उत्तरी तथा ग्रामीण क्षेत्रतर्फ जाने सडक तथा गोरेटो मार्ग अवरुद्ध भएका छन्।
हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट सिमिकोटका लागि हुने हवाई उडान पनि ठप्प भएका छन्। कठिन मौसमका बाबजुद सदरमुकामका सरकारी कार्यालयले आगो बालेर सेवाग्राहीलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा कर्मचारीहरूले सिमिकोट विमानस्थल क्षेत्रमा जमेको हिउँ हटाउने कार्य तीव्र पारेका छन्। दक्षिणी भेगमा पानी परेकाले आवतजावतमा थप समस्या देखिएको छ।
जनजीवन कष्टकर बने पनि हिमपातले बाली सप्रिने अपेक्षामा किसान भने खुसी देखिएका छन्। मङ्सिरमा रोपिएका जौँ, गहुँ र उवालगायत बालीका लागि यो हिमपात लाभदायक हुने स्थानीयको विश्वास छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले प्रतिकूल मौसमका बाबजुद गाउँ–गाउँमा प्रचारप्रसारलाई निरन्तरता दिएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्