आत्महत्या दुरुत्साहन आरोपमा डडेलधुराका प्रहरी हबल्दार नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

डडेलधुरा — डडेलधुरामा एक महिलाको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक प्रहरी हबल्दारलाई प्रहरीले पक्राउ गरेको छ। मृतक सरीता गिरीले छोडेको सुसाइड नोटका आधारमा सवारी चालक पदमा कार्यरत प्रहरी हबल्दार यज्ञ साउदलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार साउदलाई हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। मृतक गिरी भागेश्वर गाउँपालिका–३ की स्थायी बासिन्दा हुन् भने हाल अमरगढी नगरपालिका–४, खलंगास्थित जिल्ला प्रहरी कार्यालय पछाडि बसोबास गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार सुसाइड नोटमा गिरीले प्रहरी चालक साउदकै कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छन्। नोटमा पीडादायी अभिव्यक्ति प्रयोग गर्दै उनले आफूलाई “मर्न बाध्य बनाइएको” र “मरेर के गर्छस् गर” भन्ने शब्द सुन्नुपरेको उल्लेख छ।

सुसाइड नोटमा उनले आफूले जम्मा गरेको पैसा र सुन साउदले लिएको दाबी गर्दै ती सम्पत्ति आफ्ना छोरालाई दिन आग्रह गरेकी छन्। करिब १५ लाख रुपैयाँ छोराको भविष्यका लागि उपयोग गर्नुपर्ने भन्दै कसैले पढाइको व्यवस्था गरिदिन अनुरोधसमेत गरिएको छ। छोराप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले भावुक शब्दमा क्षमायाचना पनि गरेकी छन्।

डीएसपी सिंहका अनुसार मृतकका परिवार डडेलधुरा आइपुगेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। तर मृतकका आफन्तहरूले भने प्रहरी कर्मचारी नै आरोपित भएको घटनाको अनुसन्धान प्रहरीले नै गर्नु निष्पक्ष नहुने आशंका व्यक्त गर्दै स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्।

मृतक गिरीका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। उनका एक छोरा र एक छोरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *