काठमाण्डौँ । नेपालले आइसिसी महिला च्यालेन्ज ट्रफीमा रुवान्डालाई फेरि हराएको छ । मंगलबार गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले घरेल टोली रुवान्डालाई ३८ रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य रुवान्डाले पछ्याउन सकेन । १७.४ ओभरको समाप्तिमा रुवान्डाले सबै विकेट गुमाउँदै मात्र ६५ रन जोड्न सक्यो ।
नेपालको जितमा मनिषा उपाध्ययले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता कुंवर, रचना कुमारी चौधरी र रिया शर्माको नाममा समान दुई विकेट रह्यो ।
रुवान्डाका लागि कप्तान म्यारी डियन बिमेनीमानाले सर्वाधिक १९ रन जोडिन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरको समाप्तिमा १०३ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ३३ रनको पारी खेलिन् ।
यसअघि नेपालले रुवान्डासँग दुई विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । जितसँगै नेपाल अंकतालिकाको तेस्रो स्थानमा उक्लियो ।
नेपालले आफ्नो तेस्रो खेल भानुवाटुसँग अप्रिल ३० मा खेल्नेछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्