काठमाण्डौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागबाट एन्फाका सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ गते तीन महिनाका लागि निलम्बन गरेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्