युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ५

काठमाण्डौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेल सकिएसँगै क्‍वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

क्‍वाटरफाइनलमा स्पेनिस महारथी रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । रियलले अन्तिम १६ मा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई हराएको थियो ।

त्यस्तै इंग्लिस क्लब आर्सनलको भेट पोर्चुगिज टोली स्पोर्टिङ सीपी सँग हुने भएको छ । आर्सनलले बायर लेभरकुसन तथा स्पोर्टिङले बोडो ग्लिम्पटलाई हराएको हो ।

यस्तै, स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको भिडन्त पनि क्‍वाटरफाइनलमै हुने भएको छ । बार्सिलोनाले न्युकासल युनाइटेड तथा एट्लेटिकोले टोटनहम हटस्परलाई हरायो ।

साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन र इंग्लिस क्लब लिभरपुलबीच पनि अन्तिम आठमा भिडन्त हुनेछ । पीएसजीले चेल्सी तथा लिभरपुलले गालातासारेलाई पराजित गर्‍यो ।

क्‍वाटरफाइनलका पहिलो लेगका खेलहरू अप्रिल दोस्रो साता हुनेछ भने दोस्रो लेगको खेल तेस्रो सातामा खेलिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *