काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले सन् २०२६ को विश्वकपमा लागु हुने गरी केही नयाँ नियमको घोषणा गरेका छन् । खेललाई अझ छिटो, निष्पक्ष र रेफ्री निर्णयलाई एकरूप बनाउनका निम्ति उक्त नियम ल्याइएको फिफाले जनाएको छ ।
यी नियम आईएफएबीको वेल्समा सम्पन्न वार्षिक साधारणसभाबाट स्वीकृत गरिएको थियो । आईएफएबी फुटबलका नियम निर्धारण गर्ने संस्था हो । विश्वकप २०२६ आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदै छ ।
कुनै टोली सानो अन्तरले जितिरहेको अवस्थामा खेलाडीले प्रतिस्थापनका बेला जानाजानी ढिलाइ गरेर समय खेर फाल्ने गर्छन् । यसले विपक्षी टोलीलाई झर्को लाग्न सक्छ । र, कहिलेकाहीँ मैदानमा विवाद पनि हुनसक्छ ।
नयाँ नियमानुसार, प्रतिस्थापन हुँदा खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ । यदि, १० सेकेन्डभन्दा बढी समय लगाए उनको स्थानमा आउने खेलाडीले एक मिनेट पर्खनुपर्नेछ । यो प्रावधानले खेलाडीले चाँडै मैदान छाड्ने फिफाको विश्वास छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्