भारतीय क्रिकेटर रिंकु सिंहका पिताको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १५

काठमाडौं । भारतीय क्रिकेट टोलीका खेलाडी रिंकु सिंहलाई पितृशोक परेको छ । उनका बुवा खानचन्द सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी स्टेज-४ क्यान्सरबाट पीडित थिए । ग्रेटर नोएडास्थित यथार्थ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

जारी टी-२० विश्वकपमा सुपर-८ अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलपछि बुवाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि रिंकु केही समयका लागि टोली छाडेर घर फर्किएका थिए ।

यस्तो कठिन समयमा पनि उनी जिम्बाब्वेविरुद्धको खेलअघि टोलीमा सामेल हुन चेन्नई फर्किएका थिए ।

यद्यपि, जिम्बाब्वेविरुद्धको खेलमा उनी ‘प्लेइङ ११’ मा समावेश थिएनन् । टोलीले अभिषेक शर्मासँगै ओपनिङका लागि सञ्जु सामसनलाई मैदानमा उतारेको थियो ।

यस दुःखद घटनाप्रति पूर्व भारतीय स्पिनर हरभजन सिंहले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मार्फत गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘रिंकु सिंहका बुवा खानचन्द सिंहजीको निधनको खबरले मर्माहत भएको छु। टी-२० विश्वकपमा आफ्नो जिम्मेवारी निभाइरहेका बेला रिंकु र उनको परिवारका लागि यो निकै कठिन समय हो । मेरो प्रार्थना उहाँ र उहाँको परिवारसँग छ। भगवानले मृत आत्मालाई शान्ति र परिवारलाई यो दुःख सहने शक्ति प्रदान गरून् ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *