नम्बर चार पोजिसनमा जमेका दीपेन्द्रको शानदार प्रदर्शनसँगै १२ बर्षपछि विश्वकपमा नेपालको जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाएका थिए ।

मंगलबार नेपालले जीतका लागि पाएको एक सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्यो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो ।

तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो । सन् २०१४ मा बङ्गलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन ।

यो विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । मुम्बईको वानखडे रंगशालामा आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले सान्त्वना जीत निकालेको हो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । त्यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो । जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व क्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *