काठमाण्डौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट शनिबारदेखि सुरु हुँदै छ ।
भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इङ्ग्ल्यान्डसँग भिड्ने छ । यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो ।
नेपालले इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै तेस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ । सबै खेलहरू मुम्बईको वानखेडे रंगशालामा हुनेछन् । नेपाली क्रिकेट प्रेमीहरूको आँखामा यो क्षण लामो समयदेखि प्रतीक्षा गरिएको छ ।
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो । त्यसपछि दस वर्षसम्म अवसरको प्रतीक्षामा रह्यो । तर २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार खेल प्रदर्शन गर्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले हार र जीतको नजिक पुगेको त्यो खेल नेपाली क्रिकेट प्रेमीको स्मरणीय क्षण बनेको थियो ।
नेपाल लगातार कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा विश्वकप खेल्दै आएको छ । उनी मात्र होइन, सोमपाल कामीले तीनपटक विश्वकप खेल्ने इतिहासमा पहिलो नेपाली खेलाडी बनेका छन् । यी खेलाडीहरूको कठिन मेहनत र लगावले नेपाल क्रिकेटलाई विश्व मानचित्रमा स्थापित गरिरहेको छ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा नेपालसँगै दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डले स्थान पाएको हो ।
नेपाली खेलाडीहरूका लागि यो केवल खेल होइन, देशको गौरव हो । प्रत्येक बल, प्रत्येक रन, प्रत्येक विकेटमा हजारौं नेपालीको भावना जोडिएको छ । जसले गर्दा विश्वकप नेपाल क्रिकेटका लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि उत्सवको दिन बन्ने निश्चित छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्